कृपया आइन्दा पनि विवादमा आउने काम नगर्नु होला भन्ने सम्पूर्ण नेपालीको कामना!
काठमाडौं, माघ २४ - उपराष्ट्रपति परमानन्द झाले आइतबार दोस्रोपटक शपथ लिएका छन् । उनले यसअघि हिन्दी भाषामा लिएको शपथ सर्वोच्च अदालतले खारेज गरेपछि झाले पाँचमहिना पछि नेपाली र मैथिली भाषामा शपथ लिएका छन् ।नेपाली राष्ट्रिय पोशाकमा उपस्थित झाले आइतबार दिउँसो ३ बजेर ४३ मिनेट जाँदा राष्ट्रपति कार्यालयमा शपथ लिएका छन् । राष्ट्रपति रामवरण यादवले नेपाली भाषामा शपथ पत्र पढे पनि झाले नेपाली र मैथिली दुवै भाषामा शपथ लिए । शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति यादवसहित प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीश अनुपराज शर्मालगायत विभिन्न मन्त्री तथा दलका नेताहरुको उपस्थिति थियो । शपथग्रहण कार्यक्रममा बिपक्षी दलका नेताको कुर्सी भने खाली थियो । राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्दै आएको माओवादीले शपथ ग्रहणमा सहभागिता जनाएन ।उपराष्ट्रपतिले दोहोर्याएर शपथ लिएसँगै उनको पद पाँच महिनापछि क्रियाशील भएको छ । राष्ट्रपति भारत भ्रमणमा जाने भएकाले झाले फागुन ३ गतेदेखि कार्यवाहक राष्ट्राध्यक्ष प्रमुखको जिम्मेवारी पाउने भएका छन् । यसअघि हिन्दी भाषामा लिएको शपथलाई गत साउनमा सर्वोच्च अदालतले बदर गर्दै पुनः नेपाली भाषामा शपथ लिन गरेको आदेश झाले अवज्ञा गरेका थिए । अन्तरिम संविधान संसोधन गरी मातृभाषमा पनि शपथ लिन पाउने व्यवस्था गरेपछि झालाई पुनः शपथ लिने बाटो खुलेको हो ।
http://www.ekantipur.com/np/news/news-detail.php?news_id=306489









